४ वैशाख २०८१, मंगलवार
(नेपाली समय)
४ वैशाख २०८१, मंगलवार
नेपाली समय

चुनावी तालमेलप्रति महिला असन्तुष्ट, कांग्रेस प्रदेश १ को कार्यालय घेराउ

विराटनगर :मोरङमा नेपाली कांग्रेस सम्वद्ध महिलाहरुले चुनावी तालमेल र गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले आइतबार बिहान विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालय घेराउ गर्दै कांग्रेस आवद्ध महिलाहरु गठबन्धनको विपक्षमा रहेको प्रष्ट्याए । 

प्रदर्शन र नाजाबाजी गर्दै पुगेका कांग्रेसका महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका हुन् । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल र गठबन्धनका नाममा कांग्रेसले महिलालाई उपेक्षा गरेको भन्दै उनीहरुले आपत्ति जनाए । संविधानले प्रदान गरेको ३३ प्रतिशत समावेशीको अधिकारलाई पार्टीले उपेक्षा गरेको र चुनावी गठबन्धनका नाममा महिलालाई पीडित बनाइएको गुनासो उनीहरुको छ । प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरङकी सभापति शान्ता   पौडेलले निर्वाचनमा पछाडि पार्दै पार्टीले महिलालाई स्थान नदिएको बताइन् । 

‘लामो समयदेखि पार्टीमा योगदान दिएका र काम गरेका महिलालाई अधिकार दिनबाट पार्टीले बञ्चित गरेको छ,’ उनले भनिन्, ‘दलीय गठबन्धनका नाममा महिलालाई पछाडि पार्ने काम भइरहेको छ ।’  महिलाको हक कुण्ठित गर्ने कार्यबाट पार्टी नसच्चिए आफूहरु थप आक्रामक रूपमा अघि बढ्ने पौडेलको चेतावनी छ । 

महिला नेतृ एवं ट्रेड युनीयन प्रदेश १ की सभापति सुनीता घिमिरेले संविधान प्रदत्त अधिकार सुनिश्चितताका लागि पार्टी गम्भीर हुनुपर्ने बताइन् । ‘स्थानीय तह निर्वाचनमा गठबन्धनको आवश्यकता नै छैन,’ उनले भनिन्, ‘गठबन्धन गरेर महिलालाई उम्मेदवार हुनबाट रोक्ने खेल भइरहेको छ ।’

घिमिरले पालिकास्तरमा पार्टीबाट महिलाले प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा उम्मेदवारी दिन पाउनुपर्ने माग राखिन् । दलीय गठबन्धनका कारण हक अधिकार कटौती हुँदा महिला पीडित बन्नु परिरहेको उनको भनाइ छ ।  कांग्रेसका प्रदेश १ सभापति उद्धव थापाले महिलाको अधिकार पार्टीको प्रदेश कमिटीले कुण्ठित नपारेको बताए । वडादेखि पालिकाहुँदै जिल्ला तहको सिफारिसलाई प्रदेशले अघि बढाएको भन्दै उनले आफू महिला अधिकार सुनिश्चतताको पक्षमा रहेको बताए । 

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds