१३ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
१३ वैशाख २०८१, बिहीवार
नेपाली समय

जोगवनी नाकाबाट नेपाल आउने भन्दा भारत जाने धेरै

विराटनगर : विराटनगरको जोगवनी नाका हुँदै भारतबाट नेपाल आउने भन्दा नेपालबाट भारत जानेको संख्या धेरै रहेको पाइएको छ । मुलुकका अरु नाकाबाट नेपाल भित्रनेको संख्या धेरै रहे पनि जोगवनीबाट भने आउनेको संख्या न्यून छ । दुई साताको अवधिमा यो नाका हुँदै नेपालबाट भारत जानेको संख्या भने धेरै रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । 

नेपाल र भारत दुवै देशमा लकडाउन जारी छ । लकडाउनका कारण सबै काम धन्दा र व्यापार व्यवसाय बन्द भएपछि नेपालले भारतमा र भारतले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जेठ दोस्रो साताबाट आफ्नो मुलुक फर्काउन थालेका थिए । नेपाल फर्कन चाहने मध्ये कतिपयलाई जोगवनीस्थित क्वारेन्टाइनमा राखिएको थियो । 

लकडाउनका कारण त्यसअघि दुवै देशका नागरिकले आ–आफ्नो मुलुक फर्कन पाएका थिएनन् । भारतमा अलपत्र परेकाहरूलाई जेठ १३ गतेबाट जोगवनी नाका हुँदै फर्काउन थालिएको थियो । जेठ १४ बाट नेपालमा रहेका भारतीयहरु आफ्नो मुलुक फर्कन थालेका थिए । नेपाल प्रहरीले संकलन गरेको तथ्याँकअनुसार जोगवनी हुँदै सोमबार रातिसम्म वैधानिक रुपमा भारतबाट नेपाल फर्कनेको संख्या एक हजार सात सय चार रहेको छ । जसमा एक हजार चार सय ६० पुरुष र दुई सय ४४ महिला छन् । 

भारत फर्कनेको संख्या दुई हजार दुई सय ७० छ । उनीहरु मध्ये एक हजार आठ सय तीन पुरुष र चार सय ६७ महिला रहेको डीएसपी राईको भनाइ छ । लुकिछिपी नेपाल आउने र भारत जानेको संख्या भने यकिन छैन । ‘अरु नाकाको अवस्था हेर्दा जोगवनी हुँदै नेपाल भित्रको संख्या पनि उच्च हुने अनुमान गरिएको थियो,’ उनले भने, ‘तर दुई साताको अवधिमा जोगवनी हुँदै भारत जानेको संख्या भने धेरै रहेको पाइयो ।’ 

यो नाका हुँदै दैनिक पाँच सयको संख्यामा नेपाल भित्रने अनुमान गरिएको थियो । पहिलो दिन जेठ १३  गते सबै भन्दाबढी तीन सय चार जना आएका थिए । गत आइतबार सबै भन्दा कम ४१ जना आए । 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भारतबाट आएकाहरुलाई प्राथमिक स्वास्थ्य परीक्षण गरेर विराटनगरको डीएभी स्कुलमा बनाइएको ‘होल्डिङ एरिया’मा राख्ने गरिएको बताए । त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने गरिएको उनको भनाइ छ ।

थापाका अनुसार सवारी साधन सञ्चालन नभएकाले भारतमा टाढाटाढा बसेर आफ्नो पेसा व्यवसाय सञ्चालन गर्दै आएकाहरु फर्कन नपाएकाले जोगवनी हुँदै भित्रनेको संख्या कम देखिएको हुन सक्छ । ‘हाललाई नजिक रहेका र हिँडेर भए पनि सीमा नाकामा आइपुगेकाहरु आएका हुन सक्छन्,’ उनले भने, ‘सवारी साधन सञ्चालन भएपछि भित्रनेको संख्या बढ्न सक्छ ।’ जोगवनी हुँदै नेपाल आएकाहरु प्रदेश १ का धेरै र अरु प्रदेशका थोरै रहेको नेपाल प्रहरीले जनाएको छ । प्रदेश १ मा पनि झापा, मोरङ र सुनसरीका बढी छन् । 

भारत फर्कन चाहनेलाई भने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा पु¥याएर भारतीय पक्षको जिम्मा लगाउने गरिएको प्रनि थापाले बताए । भारतले रासन र आधार कार्डका आधारमा आफ्ना नागरिक हुन् कि हैनन् भन्ने यकिन गरेर मात्रै जिम्मा लिने गरेको छ । जोगवनी हुँदै फर्कनेमा भारतको बिहार राज्यका धेरै छन् । ‘भारतले सुरुमा बिहारका नागरिकलाई मात्रै लग्यो,’ थापाले भने, ‘पछि पश्चिम बंगाल बाहेक अरु राज्यका पनि लैजान थाल्यो ।’ बाहिर रहेका आफ्ना नागरिकलाई अझैसम्म भित्रन अनुमति नदिएका कारण पश्चिम बंगाल राज्यकालाई भने जिम्मा नलिकन भारतीय पक्षले सीमा क्षेत्रबाटै फर्काउने गरेको बताइएको छ । 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds