१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

ठेक्‍का लिने, अलपत्र छाड्ने

वीरगन्ज : पर्साको फरहदवा र शंकरसैया गाउँको साँधमा रहेको भलुही खोलामा पुल बनाउन थालिएको १२ वर्ष भइसकेको छ ।  तर अहिलेसम्म पनि उक्त पुलको निर्माण कार्य सकिएको छैन । ठेकेदार पनि काम छाडेर हिँडेका कारण अधुरो पुल अलपत्र परेको छ । २०६६ अषाढ २९ मा सडक डिभिजन कार्यालय र वाइपी-मोना कन्स्ट्रक्सन जेभीबीच भएको सम्झौतामा पुलको निर्माण कार्य २३ महिना भित्रै (२०६८ वैशाख मसान्तभित्रै )सक्नुपर्ने उल्लेख थियो । 

वाइपी-मोना कन्स्ट्रक्सनले भलुही खोलामा ६१.८४ मिटर लम्बाइको पुलको निर्माणको ठेक्‍का २ करोड २२ लाख ५८ हजार ८ सय ३२  रुपैयाँमा सकारेको हो । तर, ठेक्‍का लागेको १२ वर्ष भइसक्दा पनि अहिलेसम्म पुलको ४ वटा पिल्लर र ३ वटा स्पानको मात्रै काम सकिएको छ । पुलको दुवैतर्फको एप्रोच सडक, पुल संरक्षणका लागि नदी नियन्त्रणको काम , एक्सपान्स ज्वाइन्ट , वेयरिङ कोट इत्यादी काम भने भएकै छैन। 

जसका कारण पुल अधुरो र अलपत्र परेको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर नरेश केशरीले बताए । ठेक्‍का लागेको १२ वर्ष भइ सक्दा पनि निर्माण कम्पनीले पुलको काम अधुरै राखेको कशेरीले बताए ।  उनका अनुसार , ठेकेदारको आग्रहमा सार्वजनिक खरिद ऐन अनुसार नवौं संशोधन अनुसार अन्तिम पटक पुलको म्याद २०७७ पुष मसान्तसम्म थपिएको छ । 

तर म्याद थपिएको भएपनि ठेकेदारले पुलमा हात हालेको छैन, केशरीले भने, ‘अन्तिम पटक थपिएको म्यादभित्र पनि पुलको काम सकिने छाटकाट देखिदैन।’ केशरीका अनुसार, ठेकेदार पुलको निर्माण काम अलपत्र छाडेपनि ठेक्‍का सम्झौताको आधाभन्दा रकम भुक्तानी लिइसकेको छ । चार किस्तामा गरी ठेकेदारले १ करोड १४ लाख ३० हजार रुपैयाँ भुक्तानी लिइसकेको केशरीले जानकारी दिए ।  ठेकेदारले चौथो किस्ता भुक्तानी बुझेर गएपछि त्यस यता पुल निर्माणको काममा हात नै नहालेको केशरीले बताए । 

अरु ३ पुल पनि अलपत्र

भलुही खोलाको पुल १२ वर्षदेखि अलपत्र पारेको  वाइपी-मोना कन्स्ट्रक्सनले नै पर्सामा ठेक्‍का सकारेको अन्य ३ वटा पुलको निर्माण अवस्था पनि भलुही पुलकै जस्तै छ ।  वाइपी-मोना कन्स्ट्रक्सनले नै ठेक्‍का सकारेको पर्साको धुताहा नौरंगीया पुलको निर्माण पनि ५ वर्षदेखि अलपत्र छ । धुताहा नौरंगीया खोलामा ४ करोड ३० लाख २५ हजार रुपैयाँको लागतमा ३५ मिटर लम्बाइको पुल निर्माणको ठेक्‍का सम्झौता २०७२ माघ १४ मा नै भएको थियो । सडक डिभिजन कार्यालय र वाइपी-मोना कन्स्ट्रक्सनबीच भएको सम्झौतामा उक्त पुल ठेक्‍का लागेको २४ महिनाभित्रै (२०७४ पुष ३० ) निर्माण गरी सक्नुपर्ने थियो । तर ठेक्‍का लागेको ५ वर्ष भइसक्दा पनि अहिलेसम्म ठेकेदारले दुईवटा पिल्लर मात्रै ठड्याएको छ ।ठेक्‍का लागेको ५ वर्षमा अहिलेसम्म पुलको प्रगति ४१ प्रतिशत मात्र छ। सडक डिभिजन कार्यालय वीरगन्जका साइट इन्जिनियर गिरिश नन्द कोरसले भने, ‘दुईतिरको पिलर मात्र ठडिएको छ, अरु केहि काम भएको छैन, पुल अलपत्र छ ।’
 
ठेकेदारले ४१ प्रतिशत प्रगतिको बिल पेश गरेर १ करोड ७६ लाख ४० हजार रुपैयाँ भुक्तानी लगिसकेको पनि उनले जानकारी दिए । वाइपी-मोना कन्स्ट्रक्सनले नै ठेक्‍का सकारेको पर्साको इटियाही मनियारी सडक खण्डको सिर्सिया खोला र निचुटा मोर टोलको गंगोल खोलाको पुल पनि ४ वर्ष देखि अलपत्र छ । 

सिर्सिया खोलामा ७० मिटर लम्बाइको पुल , ७ करोड ८१ लाख ९५ हजार रुपैयाँको लागतमा ३६ महिना भित्रै ( २०७६ अषाढ ३१ सम्म ) पुल निर्माण सक्ने गरी २०७३ असार ३१ गते ठेक्‍का लगाइएको थियो । 

तर ठेक्‍का सम्झौता अवधि सकिएर थप १ वर्ष बितेपनि उक्त पुलको ३ वटा पिल्लरको फाउण्डेसनको काम मात्रै भएको छ । ‘ठेक्‍का लागेको ४ वर्षमा सिर्सिया पुलको प्रगति पनि ४४ प्रतिशत मात्रै छ, सडक डिभिजन कार्यालयका साइट इन्जिनियर कोरसले भने, ‘अहिलेसम्म पिलरको फाउण्डेसन र स्पानको केही काम मात्रै भएको छ ।’
 
तर ठेकेदारले प्रगति विवरणको बिल पेश गरेर ३ करोड ४३ लाख ६४ हजार रुपैयाँ भुक्तानी लगिसकेको जानकारी उनले दिए । यस्तै निचुटा मोर टोलस्थित गंगोल खोलाको पुलको पनि ठेक्‍का लागेको ४ वर्ष भइसकेको छ । तर उक्त पुल पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र नै परेको छ । 

गंगोल खोलामा १० करोड ४२ लाख १९ हजार रुपैयाँको लागतमा ९० मिटर लम्बाइको पुल निर्माणका लागि वाइपी-मोना कन्स्ट्रक्सनले २०७३ अषाढ मै ठेक्‍का सकारेको थियो । पुल निर्माणको सम्झौता अवधि ३६ महिना ( २०७६ अषाढ मसान्त सम्म) मात्र थियो ।

तर सम्झौता अवधिको ३ वर्ष र त्यसपछिको १ वर्ष बित्न लाग्दा समेत पुलको ४ वटा पिल्लर उठाउने काम मात्रै भएको छ । गंगोल नदीको हालसम्मको प्रगति २७ प्रतिशत मात्रै छ , साइट इन्जिनियर कोरसरले भने, ‘तर ठेकेदारले अहिलेसम्म २ करोड ८१ लाख ३९ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।’
 
ठेक्‍का लिने म्याद थपाउँदै जाने : सडक डिभिजन 

पर्सामा पुल निर्माणको ठेक्‍का सकारेको वाइपी-मोना कन्स्ट्रक्नले कुनै पनि काम समयमा पुरा नगरेको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर नरेश केशरीले बताए ।  
ठेकेदारको लापरवाहीले कुनै पनि पुलको काम समयमा सकिएको छैन, उनले भने, ‘ठेक्‍का सकार्ने, विभिन्न बहानामा काम भ्याइएन भनेर म्याद थपाउँदै जाने काम मात्रै गर्दै आएको छ ।’

तर वाइपी-मोना कन्स्ट्रक्सनका संचालक रमाकान्त्त चौरसीयाले भने भलुही खोलाको पुलको डिजाइनमा इन्जिनियरले त्रुटी गरेका कारण पुल संचालनमा आउन नसकेको बताए । ‘खोलाको चौडाइ १ सय ५० मिटरको छ तर इन्जिनियरले ६१ मिटर लम्बाइको मात्र डिजाइन गरेर ठेक्‍का लगाए,उनले भने, ‘पोहोर असारको बाढीले दुवैतर्फको एप्रोच सडक भत्काइ दियो, त्यसैले पुल हस्तान्तरण गर्न सकिएन।’

एप्रोचबाहेक पुलको अरु सबै काम सकिसकेको जिकिर पनि उनले गरे । अरु ३ वटा पुल अधुरै रहेको सन्दर्भमा भने चौरसीयाले कार्य प्रगतिअनुसार सरकारबाट रकम निकासा नभएका कारण समस्या भएको बताए । पैसा नै नआएपछि काम कसरी अगाडि बढाउने प्रश्न गर्दै उनले भने, ‘केही ठाउँमा स्थानीयबाट जग्गाको विवाद भएर अवरोध गरियो, केही ठाउँमा त ढिलै काम सुरु भयो, यी सब कारणले समयामा काम पूरा गर्न नसकिएको हो।’

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds