४ वैशाख २०८१, मंगलवार
(नेपाली समय)
४ वैशाख २०८१, मंगलवार
नेपाली समय

डिस्चार्ज न्यून, नयाँ संक्रमित दोब्बर

काठमाडौं : सरकारी अस्पतालमा कोरोना भाइरसबाहेक अन्य प्रकारका बिरामीको भर्नाभन्दा डिस्चार्ज हुने क्रम बढिरहेका बेला कोभिड अस्पतालमा उल्टो दृश्य देखिन थालेको छ। नयाँ कोरोना संक्रमित बिरामी बढेका छन्, डिस्चार्ज हुने क्रम न्यून छ।

कोरोना संक्रमण मुलुकभर फैलिरहँदा यसबाट निको भएर डिस्चार्ज र नयाँ संक्रमितबीचको अनुपात झन्डै दोब्बर हुन पुगेको छ। संक्रमण देखिएको झन्डै पाँच महिनापछि यो अवस्था देखिएको हो। नेपालमा पहिलो केस माघ ९ गते देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मात्र ८८ महिलासहित नयाँ ४ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा पुरुष संक्रमितको संख्या ३ सय ३८ रहेको छ।

पछिल्लो चौबिस घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने मध्ये पुरुष २ सय ७ छन् भने महिला ९ जना छन्। प्रवक्ता गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। डिस्चार्ज हुनेमा झण्डै ९० प्रतिशत पुरुष छन्। हालसम्म संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ। संक्रमित मध्ये पुरुष ७ हजार ६ सय ६७ र ७ सय ७ जना महिला छन्। ७४ जिल्लामा संक्रमण फैलिएको छ।

‘पहिला दैनिक दुई हजारको हाराहारीमा बिरामी आउँथे। अहिले त महिनाको दुई हजार पुग्छ’, डा. प्रेमकृष्ण खड्गा निर्देशक टिचिङ अस्पताल।

विभिन्न जिल्लामा १ लाख ९ हजार ४ सय ६१ क्वारेन्टाइन छन्। कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आइसोलेसनमा बसेका व्यक्तिको संख्या ६ हजार ८ सय ५० रहेको छ। अहिलेसम्म आरटी पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट १ लाख ६१ हजार ७ सय ४९ को परीक्षण भएको छ। मुलुकका २४ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुने गरेको छ। आरडीटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ।

डिस्चार्ज धेरै, भर्ना न्युन

३ सय १ बेड क्षमताबाट सेवा सुरु भएको त्रिभुवन विश्वविद्यालय, शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा हाल ६ सय ६४ बेड क्षमता छ। तर, अधिकांश बेड खाली छन्।

विशिष्टिकृत शल्यक्रिया सेवा लगायत वहुविज्ञसहितका सेवा उपलब्ध सो अस्पतालमा अहिले कोरोनाबाहेक अन्य बिरामीको भर्ना हवात्तै घटेको छ। सरकारले यस अस्पताललाई लेभल ३ कोभिड अस्पताल घोषणा गरेको छ। मुलुकको एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा पनि बिरामीको संख्या घटेको छ। बिरामीको संख्यासँगै आम्दानी पनि घटेको छ। सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेपछि सरकारी अस्पतालमा नयाँ बिरामीको संख्या न्युन छ। आम्दानी घट्दा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई तलब खुवाउन सकस हुन थालेको छ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा भन्छन्,‘कोभिड बाहेकका बिरामी डिस्चार्ज हुने क्रम बढी छ। नयाँ भर्ना हुने संख्या कम छ।’ अस्पतालका चिकित्सक, नर्सिङ कर्मचारी, प्यारामेडिक्स, सुरक्षा तथा सरसफाई कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकोले आर्थिक समस्या भइरहेको उनी बताउँछन्। ३७ वर्ष पुरानो यो अस्पतालमा लकडाउनयता नयाँ भर्ना हुने बिरामी भन्दा डिस्चार्ज हुनेको संख्या बढेको हो।

आम्दानीमा अंकुश

लकडाउन घोषणा भएसँगै सरकारी, निजी एवं सामुदायिक अस्पतालमा कोभिड बाहेकका बिरामी भर्ना हुने क्रम हवात्तै घटेको छ। शिक्षण अस्पतालमा उपचारका लागि बहिरंग विभाग (ओपीडी)मा चैत महिनामा १० हजार ४ सय ८१ जना बिरामी आएका थिए। अधिकांश बिरामी लकडाउन अघि आएका डा. खड्गा बताउँछन्।

गत बैशाखमा नयाँ र पुरानासहित ४ हजार २ सय २ जना बिरामी आएका थिए। जेठमा बिरामीको संख्या घटेर ३ हजार २ सय ९२मा झरेको छ। अत्यावश्यक नपरी नआउनु भन्ने सूचना सम्प्रेषण भएकाले पनि बिरामीको संख्या घटेको अस्पतालका एक चिकित्सकले बताए। लकडाउनमा आवतजावत गर्ने साधन नपाउँदा बिरामीको संख्या घटेको उनीहरुको ठहर छ। सो अस्पतालमा कपिलवस्तुबाट आएकी एक बालिकामा कोरोना संक्रमण भेटिएपछि त्रासका कारण पनि अन्य बिरामी आएनन्। डा. खड्गाले भने, ‘दैनिक दुई हजारको हाराहारीमा बिरामी आउँथे। अहिले त महिनाको दुई हजार पुग्छ।’

त्यस्तै मुलकको एकमात्र बाल अस्पताल कान्तिमा पनि बिरामीको संख्या घटेको छ। गत चैत महिनामा कुल ६ हजार २ सय ८९ जना बालबालिका उपचारका लागि आएका थिए। त्यस्तै, बैशाखमा कुल २ हजार १ सय ७३ जना भर्ना भएका थिए। यसैगरी जेठ महिना सुरु भएयता १ हजार ७ सय बालबालिका उपचारका लागि आएका अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘गर्मीको बेला भएकोले बिरामीको संख्या झन् बढ्नु पर्ने थियो। तर, लकडाउन भएकोले बिरामीको संख्या घटेको छ। टाढाका पनि एम्बुलेन्समा फाट्टफुट्ट आइरहेका छन्।’ स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/७५ मा सरकारी अस्पतालबाट मुलुकभर १३ लाख ३२ हजार ६ सय ९७ जनाले ओपीडी सेवा लिएका छन्।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds