१३ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
१३ वैशाख २०८१, बिहीवार
नेपाली समय

दोलखामा दुई महिनासम्म पुग्ने खाद्यान्न मौजाद

चरिकोट : कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण गरिएको लकडाउन अवधिका लागि दोलखामा अझै २ महिना पुग्ने खाद्यन्न मौजाद रहेको छ। लकडाउनको कारण ढुवानीमा समस्या आई खाद्यान्न संकट हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लामा खाद्यान्न अभाव हुन नदिन डेढ लाखभन्दा बढी मान्छेलाई दुईमहिना सम्म खान पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ । 

जिल्लामा खास बसोबास गर्ने करिब डेढलाख जना, प्रहरी, सेना र कर्मचारीलगायत गरी एकलाख ५५ हजार जनालाई २ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

जिल्ला सदरमुकाम चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, मागादेउराली र किर्नेटार बजारमा एकलाख ५५ हजार जनसंख्यालाई २ महिनासम्म खान पुग्ने चामल, दाल, नुन, तेल र ग्यास मौज्दात रहेको प्रजिअ शर्माले जानकारी दिए । २०६८ सालको जनगणना अनुसार दोलखाको जनसंख्या १ लाख ८७ हजार ५ सय ५७ भए पनि जिल्लामा दैनिक बसोबास गर्नेको संख्या डेढलाखको हाराहारीमा रहेको प्रशासनको तथ्यांक रहेको छ।

प्रजिअ शर्माका अनुसार चैत मशान्तसम्म जिल्लामा ३ लाख ६३ हजार किलोग्राम चामल मौज्दात रहेको छ । दाल ३१ हजार किलोग्राम, आयोडिन नुन १५ हजार किलोग्राम, खाने तेल २७ हजार लिटर, ग्यास २६७० सिलिण्डर मौज्दात रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । त्यसैगरी कुखुराको दाना २ लाख ८८ हजार पाँचसय किलोग्राम मौज्दात रहेको प्रजिअ शर्माले जनाए ।

२१ दिनदेखि चलिरहेको लकडाउनको अवधिभर एकघण्टा पनि खाद्यन्न संकट नपरेको प्रजिअ शर्माको दावी छ। अत्यावश्यक सेवाको रुपमा जिल्लामा खाद्यन्न, औषधिलगायतका सामग्रीको कमि हुन नदिन पासको व्यवस्था गरी गाउँ गाउँमा खाद्यान्नको आपूर्ति भइरहेको प्रशासनले जनाएको छ ।

दोलखा उद्योग बाणिज्य संघसँगको सहकार्यमा जिल्लामा जुनसुकै अवस्थामा पनि खाद्यन्न, औषधि र इन्धनलगायतको वस्तुको अभाव हुन नदिन तथा कालोबजारी हुन नदिन प्रशासनले त्रिपक्षीय अनुगमन पनि गरिरहेको प्रजिअ शर्माको भनाई छ। 

जिल्लाका स्थानीय तहले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका व्यक्ति तथा परिवारको लागत संकलन गरिरहेको र आवश्यकताको आधारमा निर्णय गरेर खाद्यान्न उपलब्ध गराइने योजना बनाइएका प्रशासनले जनाएको छ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds