१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान

भक्तपुर, २८ जेठ (रासस) ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा पर्नुभएका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलाश अधिकृत कमल महतले जानकारी दिनुभयो ।

कालीकोट रुप्सा–५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप दोरम्बा गाउँपालिका २ मानेडाँडा घर भई सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् ।

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वलमान महर्जनले जानकारी दिनुभयो । प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

2018-06-11 20:06

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds