१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

‘प्रदेश बलियो नभएसम्म संघीयता बलियो हुँदैन’

बुटवल, २७ जेठ (रासस) ः प्रदेश नं ५ को सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यले राखेका विभिन्न जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले संविधान र संघीयता कार्यान्वयनका सन्दर्भमा नीति तथा कार्यक्रमले निकै महत्व राख्ने बताउनुभयो । उहाँले प्रदेशसभा सदस्यले राखेका सुझाव र टिप्पणीले आगामी आवको बजेट निर्माण गर्न मार्ग निर्देशन गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका तर्फबाट बिदाको व्यवस्थापन गर्न कार्यदल बनाएर अध्ययन गरी प्रतिवेदन आइसकेकाले अव चाँडै निष्कर्षमा पुग्ने
बताउनुभयो । उहाँले भन्नुभयो– “सरकारको प्रयास सबै प्रकारका समुदायका भावना र आकांक्षालाई सम्बोधन गर्नुपर्छ भन्ने हो ।” प्रदेश बलियो नभएसम्म संघीयता बलियो हुन नसक्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले अघिल्लो नीति तथा कार्यक्रममा समावेश गरिएका महत्वपूर्ण कार्यक्रमलाई अहिलेको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको बताउनुभयो । उहाँले प्रदेश सरकारले सञ्चालन गर्ने सबै आयोजनालाई प्रदेशका गौरवका आयोजना बनाउने प्रयास भइरहेको र प्रदेशको विकासका लागि अन्तरप्रादेशिक आयोजनालाई समेत अगाडी बढाइने बताउनुभयो । प्रदेशको स्थायी मुकाम सहमतिका आधारमा टुङ्ग्याइने उहाँले बताउनुभयो ।

यसअघि आजको बैठकमा नीति तथा कार्यक्रमका बिषयमा भएको छलफलमा भाग लिँदै अधिकांश प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कोष र संसदीय विकास कोषको कार्यक्रम आउनुपर्ने माग गरेका थिए ।
प्रदेशसभा सदस्यहरु अष्टभुजा पाठक, अर्जुनकुमार श्रेष्ठ, विष्णुप्रसाद पन्थी, जल्पा भुषाल, अमरबहादुर डाँगी र निर्मला क्षेत्रीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले वित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश नं ५ प्रदेश कर, गैरकर राजश्व सम्बन्धि विधेयक २०७५ प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी जेठ ३० गते अपराह्न १ बजे बस्ने छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds