१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

२४ चैत, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र  पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो ।

तर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीले बाजी मारे ।

पाँच वर्षअघिको त्यो प्रस्ताव

आजभन्दा पाँच वर्षअघि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम गभर्नरको लागि सिफारिस भएको थियो। सिफारिसकर्ता थिए तत्कालीन अर्थमन्त्री डा. रामशरण महत । एक डेपुटी गभर्नर सहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्नै पर्ने प्रावधान अन्तर्गत उनको पनि नाम सिफारिस भएको थियो ।

तर, त्यतिबेला डा. चिरञ्जीवी नेपाल गभर्नरको बाजी मारेका थिए ।

त्यतिबेला डा. नेपाल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । प्रधानमन्त्री हाबी हुने गभर्नरको नियुक्ति प्रकृयामा त्यतिबेला नेपालले नै बाजी मारेपछि अधिकारीको गभर्नरको दौड केही समयको लागि रोकियो । उनको डेपुटी गभर्नरको पद बाँकी नै थियो । गभर्नरका प्रतिस्पर्धी नेपालसँगै दुई वर्ष काम गरेर अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिए ।

तिनै अधिकारीले त्यसको पाँच वर्षपछि अहिले गभर्नरको दौडमा बाजी मारेका छन् । सोमबार बसेको मन्त्रिपरिषद‍्ले उनै अधिकारीलाई अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नयाँ गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गर्‍यो ।

को हुन् अधिकारी ?

नवनियुक्त गभर्नर अधिकारीको जन्म पूर्वी पहाडी जिल्ला खोटाङको सिमपानीमा विसं. ०२० सालमा भएको हो । औपचारिक शिक्षाको सुरुवात खोटाङमै गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए ।

पढाइसँगै रोजगारी खोज्नुपर्ने बाध्यताका कारण काठमाडौं आएलगत्तै उनलाई जागिरको चिन्ताले सताउन थाल्यो । गाउँबाट भर्खर काठमाडौं छिरेका उनलाई बिरानो सहरमा बसेर आफ्नो लक्ष्य पूरा गर्न पनि एउटा दिगो जागिरको आवश्यकता थियो । जागिर खोज्ने क्रममा ०४० को दशकको सुरुवात तिरै राष्ट्र बैंकमा जागिर खुलेको थाहा पाए । पहिलेदेखि नै पढाइमा तीक्ष्ण स्वभावका अधिकारीले वि.सं. ०४२ सालमा राष्ट्र बैंकमा सहायक स्तरको पदमा नाम निकालेर सरकारी सेवाको सुरुवात गरे ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् ।

जुन सं‌स्थामा उनी एउटा सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए । सोही स‌ंस्थाको सर्वोच्च पदमा ३४ वर्षपछि अधिकारी फेरि फर्किएका छन् । ०४२ सालमा सेवा सुरु गरेपछि पनि उनले आफूलाई त्यसैमा सीमित राख्न चाहेनन् । सहायकस्तरबाट सेवा सुरु गरेका उनले वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती हुन सफल भए । ५ वर्ष ३ महिना उपनिर्देशकका रुपमा सेवा सम्पन्न गरेपछि उनी ०५६ मा निर्देशक पदमा बढुवा भए ।

निर्देशकमा नौ वर्ष ६ महिना बिताएका उनी ०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनामा अर्थात् ०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो ।

विस‌ं २०६५ सालमा कार्यकारी निर्देशक बनेका उनी सन् २०१० मा भने डेपुटी गभर्नरमा नियुक्त भएका थिए । विभिन्न पदमा गरी तीन दशक राष्‍ट्र बैङ्कमा बिताएका अधिकारी नेपालको वित्तीय क्षेत्रका एक जानकार व्यक्तिको रुपमा चिनिन्छन् ।

डेपुटी गभर्नर छँदै गभर्नरका लागि सिफारिसमा परेका उनले गभर्नरकाे लागि भने एक कार्यकाल कुर्नु पर्‍यो। डा. नेपाल गभर्नर बनेपछि पनि उनले विभिन्न सरकारी निकायमा रहेर सेवा गर्ने अवसर पाएका थिए ।

उनी ०७३ सालमा राष्ट्र बैंकबाट बाहिरिएका हुन् । त्यसको तीन वर्षमा नै उनले फेरि राष्ट्र बैङ्कको जिम्मेवारीमा फर्किने अवसर पाएका हुन् । राष्ट्र बैङ्कबाट निस्किएपछि सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds