१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

लुम्बिनी क्षेत्रमा प्रदूषण घट्यो

भैरहवा : काठमाडौंभन्दा पनि उच्च प्रदूषण रहने लुम्बिनी क्षेत्रको वायु स्वच्छ भएको छ। सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयनसँगै यस क्षेत्रको प्रदूषण घटेको हो।

भैरहवा, बुटवल क्षेत्रमा हुने विकास निर्माणले यस क्षेत्रमा उच्च प्रदूषण मापन हुँदै आएको थियो। गत वर्षको यही समयको तुलनामा यस क्षेत्रको प्रदूषण ह्वात्तै घटेको हो। १२ दिनदेखि सवारी साधन, उद्योग, कलकारखाना, सर्वसाधारणको हिँड्डुल, सडक निर्माणलगायत सबै काम ठप्प छन्। युनिभर्सिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थित निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानमा भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको पाइएको थियो।

प्रदूषणले बालबालिका बिरामी भएर विद्यालयको अध्ययापन छुट्नेदेखि मानवीय जीवन धेरै असर गरेको थियो। इन्डोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर) प्रदूषणको अवस्थाबारे अध्ययन गरिएको थियो।

प्रतिष्ठानले इन्डोरको प्रदूषण मापन गर्दा जाडोयाममा वायु गुणवत्ता सूचकांक ३ सय ५० देखि चार सयसम्म पाइएको थियो। जबकि इन्डोरमा १ देखि ५० सम्म वायु गुणवत्ता सूचकांकलाई स्वच्छ र राम्रो मानिन्छ। वर्षायाममा १ देखि ५० भित्रै वायु गुणवत्ता सूचकांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सूचकांक पाइएको थियो।

उक्त रिपोर्टअनुसार यस क्षेत्रमा इन्डोर पनि स्वच्छ वायु पाइएको थिएन। जसकारण भैरहवा क्षेत्रका अस्पतालहरुमा प्रदूषणका कारण आँखा रोग, श्वासप्रश्वास समस्या, श्वासप्रश्वास, एलर्जी लगायतका बिरामी पनि बढेका थिए। आउटडोर प्रदूषण मापनका लागि प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदूषण मापन गर्दा अवस्थामा भयवाह देखिएको थियो। यी क्षेत्रमा ४ सयदेखि ४ सय ५० सम्म वायु गुणवत्ता सूचकांक पाइएका थिए। आउटडोरमा एकदेखि एक सय ५० सम्म वायु गुणवत्ता सूचकांकलाई स्वच्छ र राम्रो मानिन्छ।

अहिले बाहिर प्रदूषण घट्दा कोठाभित्र प्रदूषण स्वतः घटेको छ। निमा–प्रतिमान स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले लकडाउनका कारण विगतभन्दा अहिले प्रदूषणको अवस्था निकै कम पाइएको बताइन्। ‘अहिले आउटडोरमा वायु गुणवत्ता सूचकांक एकदेखि एक सय ५० भित्रै छ’, उनले भनिन्, ‘कुनै कुनै दिन सूचकांक ४२ सम्म पनि झरेको पाइएको छ, जुन वातावरणको लागि निकै राम्रो हो।’

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds