७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

वीरगन्जको अवस्था भयावह बन्दै, कोरोनाबाट एकैदिन ५ को मृत्यु

क्रान्ति शाह

वीरगन्ज : कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । 

वीरगन्जमा बुधबार मात्रै कोरोनाले ५ जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु भएको हो । वीरगन्जमा ३ दिन (सोमबार देखि बुधबार ) सम्म १२ जनाको मृत्यु भएको छ । बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृत्यु भएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा १९ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक २३ जनामध्ये पर्साका १५ जना , बाराका ५ , सर्लाहीका २ जना र रौतहटका १ जना हुन् ।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । 

डाक्ट दासका  अनुसार नारायणी अस्पतालमा बुधबार साँझ सम्म ४३ जना जटिल अवस्थाका संक्रमित  उपचाररत छन् । ती सबैको अवस्था जटील रहेकाले सबैलाइ अक्सिजन लगाएर राखिएको डाक्टर दासले बताए । नरायणी अस्पतालले जटिल अवस्थाका संक्रमितलाई मात्र भर्ना लिने गरेको छ । 

संक्रमण पुष्टि भएका तर सामान्य लक्षण भएका संक्रमितलाई भने होम आइसोलेसनमा बस्ने गरी घर पठाइ दिने गरिएको डाक्टर दासले बताए । वीरगन्जमा अहिले कोरोनाले हुने मृत्यु दर १६.८१ प्रतिशत रहेको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह बताउछन् ।

कोरोनाको दोश्रो लहर सुरु भएयता  एक हप्ताअघिसम्म मृत्युदर १४ प्रतिशतको हाराहारीमा थियो। तर अहिले २ दिन यता १७ प्रतिशतको हाराहारीमा पुगिसकेको डाक्टर उदय बताउँछन् ।  

दोश्रो लहर सुरु भएयता नारायणी अस्पतालमा वैशाख १५ सम्म उपचारका लागि १ सय १९ संक्रमित भर्ना भएकोमा ती मध्ये २३ जनाको मृत्यु भएको डाक्टर  उदय बताउँछन् । उनका अनुसार कोरोना संक्रमणको पहिलो लरहका बेला भने वीरगन्जमा कोरोनाले हुने मृत्यु दर अधिकतमा ५ प्रतिशतसम्म मात्र पुगेको थियो । 

तर अहिले नयाँ भेरियन्टको भारइस निक्कै कडा रहेको र यसले शरीरमा छिटटै असर पारेका कारण दोश्रो लहरमा मृत्यु दर धेरै नै बढी देखिएको डाक्टर उदय बताउँछन् । 

यसका साथै संक्रमणको लक्षण देखा परिसके पनि मौसमी ज्वरो , रुघा खोकी त हो भनेर कोरोना जाँच नगराइ लापरवाही गरेर घरमै बस्ने र सिकिस्त भएपछि मात्र अस्पतालमा आउने गरेका कारणले पनि मृत्यु दर बढ्दै गएको डाक्टर दास बताउँछन् ।  

कोरोना संक्रमण दर पनि दिनहु बढ्दै

संक्रमणको दोश्रो लहरमा वीरगन्जमा कोरोना संक्रमण दर पनि बढ्दै गएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा दिनहु हुदै आएको परिक्षणमा , परिक्षण गराएका मध्ये आधा भन्दा बढिमा संक्रमण भेटिने गरेको छ । वीरगन्जमा मङगलबार राति मात्रै १ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति २ सय १० जनाको स्वाब नमूना परीक्षण गरिएको थियो । ती मध्ये  ६० प्रतिशत भन्दा बढी अर्थात् १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि वीरगन्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो ।गत आइतबार नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गराएका मध्ये ७० प्रतिशत भन्दा बढिमा संक्रमण भेटिएको थियो ।  

वीरगन्जमा चैत २७ गते देखि यता १ हजार १ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । चैत २७ देखि मङगलबार वैशाख १४ सम्म २ हजार १ सय ८ जनाको परीक्षण गर्दा आधा भन्दा बढी अर्थात् १ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर दासले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, पर्सामा बुधबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार २४ छ । ती मध्ये ८ सय ६० जना संक्रमित होम आइसोलेसनमा छन् । सदरमुकाम वीरगन्जमा संक्रमण र मृत्यु दर दुवै बढ्दै गएपछि कोरोना संक्रमणको साङगलो तोड्न बिहीबारदेखि वैशाख २२ गते सम्म एक साताका लागि पर्सा जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । 

साभार : अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds