१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

सिङ्गापुर, २७ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुग्नुभएको छ । उहाँ त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताउनुभएको थियो । उहाँले क्यानाडा प्रस्थान गर्नुअघि शनिबार भन्नुभएको थियो– म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हँुदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ ।

सिङ्गापुर सरकारले पनि यस वार्ताकोे अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।

उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँले सिङ्गापुर पुगेर आज आइतबार नै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । यो समाचारको सिङ्गापुरको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । उक्त मन्त्रालयले आइतबार उत्तर कोरियाली नेता र सिङ्गापुरका राष्ट्रपतिबीच भेटवार्ता हुने जनाएको छ ।

साथै उक्त मन्त्रालयले सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिङ्गापुरका राष्ट्रपति बीच पनि भेटवार्ता हुने तय भएको जानकारी दिएको बताइएको छ ।

अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता नाम दिइएको यस बैठकप्रति विश्वको नै चासो बढेको छ । यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन् ।

यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् ।
यसैबीच सिङ्गापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिङ्गापुरमा जम्मा भएका छन् । पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् ।

यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन् ।

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ ।

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो ।

सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ ।

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds