१४ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
१४ वैशाख २०८१, शुक्रवार
नेपाली समय

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने : कावा प्रधानमन्त्री

काठमाडौँ, ७ असार (रासस) : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । 

चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो । 

रक्षामन्त्रीसमेत रहनुभएका कावा प्रधानमन्त्री पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताउनुभयो । 

उहाँले शारीरिक अभ्यास, उपचार पद्धति, योग शिक्षा, धार्मिक एवं आध्यात्मिक चेतना विकास तथा विश्वव्यापी सहकार्य, सामञ्जस्यजस्ता योगका आयामलाई सन्तुलित रुपमा जीवन पद्धति नै बनाउने कार्यमा यस दिवसले प्रेरणा दिएको समेत धारणा राख्नुभयो । 

“योगको महत्व विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । पूर्वीय सभ्यता एवं जीवनदर्शनको अमूल्य सम्पदा योगलाई आज विश्वले जुन महत्वपूर्ण स्थान दिएको छ त्यसको आधारमा यसको महत्वलाई आ–आफ्ना ठाउँबाट प्रचारप्रसार गरेर सबैलाई योगमा आबद्ध गराउनुपर्दछ,” उहाँले भन्नुभयो । 

योगलाई कुनै एउटा धर्म सम्प्रदायसँग मात्र नाता छ कि भनेर कतिपय त सशंकित भएर पनि हेर्ने गरेको पाइएको भन्दै उहाँले वास्तवमा योग कुनै धर्म संस्कृतिको मात्रै पेवा नभई मानवजाति असल बन्न तथा सत्यलाई चिन्न र विभेदलाई हटाउने साधनको रुपमा पनि योग रहेको बताउनुभयो । 

कावा प्रधानमन्त्री पोखरेलले योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र भएको उल्लेख गर्दै योगको अन्तर्मनसँग मात्रै होइन, आत्मासँग पनि त्यत्तिकै घनिष्ट सम्बन्ध रहेकाले योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिने धारणा राख्नुभयो । 

उहाँले ऋषिमुनिले सनातनकालदेखि योगसाधन गर्दै आएका भए पनि योगलाई व्यवस्थित र बेग्लै दर्शनको रुपमा विकास गर्ने काम पतञ्जलिले गरेको बताउनुभयो । 

भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds